काठमाडौं: भारतले लगाएको नाकाबन्दीको विरोध गर्दै त्रिचन्द्र क्याम्पसमा अध्ययनरत विद्यार्थीले सडकमा चिया बनाएर सर्वसाधारणलाई वितरण गरेका छन्।
‘नाकाबन्दीका कारण नेपालीले निकै कष्टकर दैनिकी बिताइरहेका छन्। भारतको यस्तो अमानवीय कार्यको विरोध गर्दै नाकाबन्दी खुलाउन दबाब पुगोस् भनेर सडकमै चिया बनाएका हौं', चिया बनाइरहेका स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विकास खत्रीले भने। सडकमा चिया बनाउन विद्यार्थी आफैंले दाउराको व्यवस्था गरेका थिए।
विद्यार्थीसँगै सडकमा हिँडिरहेका केही सर्वसाधारणले चिया बनाउने कार्यमा सहयोग गरेका थिए। संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रेको मधेसी मोर्चालाई तत्काल आन्दोलन स्थगित गरेर नेपालको राष्ट्रिय एकता संरक्षणका लागि एकजुट हुन विद्यार्थीले आग्रह गरेका थिए।
'एकातिर भारतले नाकाबन्दी गरेर नेपालीलाई दुःख दिइरहेको छ, अर्कोतर्फ नेपाली भूमिमा पसेर निर्दोष सर्वसाधारणमाथि गोली बर्साइरहेको छ', विद्यार्थी रामचन्द्र शिवाकोटीले भने, 'यस्तो अवस्थामा मधेसवादी दलहरू नेपालको राष्ट्रियता नै कमजोर हुने गरी आन्दोलनमा उत्रेका छन्। नेपाल सम्पन्न भएमात्र तराई क्षेत्र पनि सम्पन्न हुन्छ भन्ने बुझेर आन्दोलनकारीले तत्काल आन्दोलन छोडेर वार्तामा आउनुपर्छ।'
उनीहरूले कालोबजारी र भ्रष्टाचारीलाई कडा कारबाही गरेर आपूर्ति व्यवस्था सहज बनाउने विषयमा पहल गर्न सरकारलाई आग्रह पनि गरेका थिए। नाकाबन्दी र मधेसवादी दलको आन्दोलनले पढाइमा निकै समस्या पारेको विद्यार्थीले बताएका थिए।
annapurnapost
Post a Comment