वीरेन्द्रनगर-सिँचाईमन्त्री उमेशकुमार यादवले डा बाबुराम भट्टराईको नयाँ शक्ति काम नलाग्ने नेताहरु थुपार्ने डम्पिङ साइट भएको बताएका छन् ।
एकीकृत माओवादीका केन्द्रीय सदस्य समेत रहेका मन्त्री यादवले पार्टीका नेता तथा कार्यकर्तालाई नयाँ शक्तिको भ्रममा नपर्न आग्रह गरेका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा एकीकृत माओवादीको जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा यादवले भने, ‘बाबुराम दाईको नयाँ शक्ति नयाँ शक्ति होइन । त्यो काम नलाग्ने नेताकार्यकर्ता थुपार्ने डम्पिङ साइट हो । नयाँ शक्तिको भ्रममा नपर्नु होला ।’
मालेमावादको विचार तथा कम्युनिस्ट पार्टीको सदस्यता समेत परित्याग गर्ने झुण्डहरुलाई नयाँ शक्ति भन्न नमिल्ने यादवको भनाइ थियो ।
मन्त्री यादवले नेपालमा अहिलेसम्मकै सबैभन्दा नयाँ शक्ति माओवादी पार्टी र नयाँ विचार मालेमावाद र प्रचण्डपथ भएको दाबी गरे ।
‘अति पहाडियावाद र अति मधेशवाद दुबै तालिवानी प्रवृत्ति’
यस्तै, सिँचाईमन्त्री यादवले आफूलाई राष्ट्रवादी देखाउन मधेशीलाई भारतसँग जोडेर गाली गर्ने प्रवृति ठीक नभएको बताएका छन् ।
सुर्खेतकै वीरेन्द्रनगरमा आयोजित राजनीतिक दलका स्थानीय प्रतिनिधिहरुसँगको अन्तक्र्रियामा मन्त्री यादवले मधेशवादी बन्न पहाडलाई गाली गर्ने प्रवृत्ति पनि गलत भएको बताए ।
यादवले अति पहाडियावाद र अति मधेशवाद दुबै तालिवानी प्रवृत्ति भएको दाबी गरे ।
पृथ्वीनारायण शाहको एकीकरण अभियानदेखि हालका आन्दोलनहरुसम्म मधेशी जनताले भरपूर साथ दिएको जिकीर गर्दै यादवले उग्रराष्टवादको नारा उचालेर मधेशीलाई अधिकार नदिने प्रपञ्च रच्नु अत्यन्तै दुखद् भएको यादवले बताए ।
राष्टिय गौरवका सिँचाई आयोजनाहरुको निरिक्षण भ्रमणमा बाँके, बर्दिया र सुर्खेत आएका आएका उनले मधेशको आवाज पहाडले र पहाडको आवाज मधेशले उठाउनुपर्ने उल्लेख गरे ।
एक अर्को प्रसंगमा मन्त्री यादवले नेपालको राजनीति अग्रगामी भएपनि प्रशासन यथास्थिति र विकास प्रक्रिया प्रतिगामी भएको टिप्पणी गरे ।
ratopati
Post a Comment