सामूहिक बलात्कारमा संलग्न अपराधी देखाउने चलचित्रमाथि प्रतिबन्ध

दिल्ली, २१ फागुन । भारतमा एक छात्रालाई सामूहिक बलात्कार गरी हत्या गरेको अपराधमा दोषी प्रमाणित भएका एक व्यक्तिले ती छात्रामाथि नै दोष लगाएको देखाइएको एक विवादास्पद वृत्तचित्रको प्रसारणमा सरकारले प्रतिबन्ध लगाएको छ भने उक्त चलचित्रका निर्माताले उक्त कार्यलाई ‘‘स्वेच्छाचारी सेन्सरसिप’’ को सङ्ज्ञा दिएका छन् ।
बुधबार संसदमा गृहमन्त्री राजनाथ सिंहले नयाँ दिल्लीमा सन् २०१२ मा भएको उक्त आक्रमणमा दोषी प्रमाणित पाँच पुरुषमध्ये एक मुकेश सिंहको टिप्पणी निकै होच्याउने भएको र त्यो महिलाको आत्मसम्मानप्रति आक्रमण भएको बताउनुभयो ।
पुरस्कार प्राप्त बेलायती चलचित्र निर्माता लेस्ली अडविनलाई नयाँ दिल्लीको तिहार कारागारमा मृत्युदण्डको निर्णय प्राप्त गरेका यी दोषीसँग अन्तरवार्ता लिने निकै कम प्राप्त हुने पहुँच दिइएको थियो ।
गृहमन्त्री सिंहले अडविनले तयार गरेको उक्त चलचित्रलाई सरकारले भत्र्सना गर्ने बताउनुभयो ।
उहाँले सरकारले कुनै पनि संस्थालाई यस्तो घटनालाई व्यापारिक प्रयोजनका लागि उपयोग गर्ने फाइदा नदिने बताउनुभयो । उक्त घातक सामूहिक बलात्कारपछिको घटनाक्रमका विषयमा उक्त चलचित्रमा देखाइएको छ ।
नयाँ दिल्लीको अदालतले मङ्गलबार ‘‘इन्डियाज डटर’’ नाम दिइएको उक्त चलचित्र देखाउन प्रतिबन्ध लगाउने आदेश जारी गरेपछि गृहमन्त्री सिंहले भारतीय संसदको माथिल्लो सभा राज्यसभामा उक्त टिप्पणी गर्नुभएको हो ।
अदालतले उक्त प्रतिबन्ध लगाएको कारण स्पष्ट भएको छैन ।
 भारतमा दोषी प्रमाणित भएका व्यक्तिलाई विचार व्यक्त गर्न स्थान दिइएकोमा केहीले चिन्ता व्यक्त गरेका छन् ।
‘‘आपत्तिजनक विषयवस्तु’’ ले सार्वजनिक अव्यवस्था सिर्जना गर्नसक्ने भन्ने आधारमा नयाँ दिल्ली प्रहरीले उक्त चलचित्रमा प्रतिबन्ध लगाउन अदालतलाई आग्रह गरेको प्रवक्ता राजन भगतले बताउनुभयो ।
सिनेमा हेरेर आफ्नो घर फर्कदै गर्दा एक बसमा उक्त जङ्गली आक्रमणमा घाइते भएको १३ दिनपछि ‘फिजियोथेरापी’ का ती विद्यार्थीको मृत्यु भएको थियो ।
उक्त घटनाका कारण भारतभर हिंसात्मक प्रदर्शन देखा परेको थियो ।
विश्वमा दोस्रो सबैभन्दा अधिक जनसङ्ख्या भएको मुलुक भारतमा उक्त घटनाले त्यहाँ महिलाविरुद्ध हुने गरेको हिंसाको डरलाग्दो स्तरलाई उजागर गरेको थियो । यसै कारण भारतमा बलात्कारविरुद्धको कानुनमा प्रमुख सुधार भएको थियो । यस्तो घटनामा छिटो सुनुवाई र बढी सजायको व्यवस्था गरिएको थियो ।
आइतबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एनडी टीभीले उक्त वृत्तचित्र प्रसारण गर्ने तय भएको थियो । यसै समयमा उक्त चलचित्रलाई बेलायतसहित अन्य छ मुलुकमा पनि प्रसारण गर्ने व्यवस्था गरिएको थियो ।
अडविनले उक्त चलचित्रमा प्रतिबन्ध लागेकोमा आफू दुःखी भएको बताउनुभयो ।
 चलचित्रमा दोषी मुकेश सिंहले २३ वर्षीया ती छात्राले राति ९ः०० बजे सडकमा घुम्न नहुने र बलात्कारका लागि केटा भन्दा केटी बढी जिम्मेवार भएको बताएका छन् ।
अडविनले एनडी टीभी मूल्य, सार्वजनिक भलाइ तथा बृहत् भलाइका लागि अडान लिने संस्था भएकाले यस स्वेच्छाकारी सेन्सरसिपको विरोध गर्ने आफूले विश्वास गरेको बताउनुभयो ।
उहाँले भारत आफ्नो अधिकारलाई मूल्य दिने तथा वाक तथा अभिव्यक्तिको स्वतन्त्रतालाई महत्व दिने मुलुक भएकाले यसलाई कायम गर्नुपर्ने बताउनुभयो ।
अडविनले यसअघि आफूले दुवै कारागारका अधिकारीहरूसँग तथा दिल्लीको तिहार कारागारमा वृत्तचित्र तयार गर्न गृह मन्त्रालयबाट अनुमति प्राप्त गरेको बताउनुभएको थियो ।
गृहमन्त्री सिंहले अडविनले सम्झौताका सर्त उल्लङ्घन गरेको बताउनुभयो

यस वृत्तचित्रले सांसदलाई विभाजित बनाएको छ । धेरैले उक्त प्रतिबन्धलाई प्रशंसा गरेका छन् भने अन्यले यस्ता घृणित बलात्कारीको धारणाको विरोध हुनुपर्ने बताएका छन् ।
स्वतन्त्र सांसद अनु आघाले चलचित्रमाथि प्रतिबन्ध लगाउनु उत्तर नभएको बताउनुभयो ।
उहाँले भारतमा पुरुषले महिलालाई सम्मान नदिने र बलात्कार भएमा उनीहरूले महिलामाथि आरोप लगाउने गरेको विषयको विरोध गर्नुपर्ने बताउनुभयो ।
यस विषयमा प्रतिक्रिया दिन एनडी टीभीका कोही पनि उपलब्ध भएनन् । अडविनले यस पाइलाले आफ्नो चलचित्रमाथि अभिरुचि अझै बढ्ने बताउनुभयो । एएफपी

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget