मृर्गौला बेच्नेहरू परिवारबाट नै बहिष्कृत हुँदै

बनेपा, २६ फागुन । काभ्रेपलाञ्चोक जिल्लामा गरिवीका कारण मृगौला बेच्न बाध्य भएकाहरू आफ्नै परिवारबाट बहिष्कृत हुन थालेका छन् ।
मृगौला बेचेर बनेको घाउका कारण देखिएको मानसिक पीडा त उनीहरूलाई छँदैछ त्यसमाथि आफ्नै परिवारले बहिष्कृत गरेपछि पीडितहरू घर न घाट भएका छन् ।
“जुन दिन मैले मृगौला बेचेर आएँ त्यही दिनदेखि मलाई परिवारले छोडेर गए”, जिल्लाको ज्याम्दी गाविस–७ का माधव पराजुलीले भने ।
उनी ज्याम्दी गाविसस्थित घरमा एक्लै जीवन बिताइरहनुभएको छ भने श्रीमती र चारजना छोराछोरी भक्तपुरस्थित ठिमीमा किराना पसल सञ्चालन गरेर जीवन निर्वाह गरिरहेको पराजुलीले बताए ।
‘कहीलेकाँही माइली छोरी अम्बिका भेटन आउँछिन् तर परिवारका अन्य सदस्यसँग भेटन नपाएको  वर्षौ भर्इसक्यो,’ उनले भने ।
२०६७ सालमा गरिवीका कारण मृगौला बेच्नुभएका पराजुली झण्डै ६ वर्षदेखि एक्लिएको र अहिले बिहान, बेलुका हातमुख जोर्न पनि गाह्रो भएको उनको भनाई छ ।
‘म परिवारसँग भेट्न गएँ भने मलाई जेठानहरूले कुटछन्, त्यसैले म त्यहाँ जाँदिन’  पराजुली भन्छन् । उनको छजनाको परिवार थियो ।
पराजुलीले आफूुले रु ९० हजारमा मृगौला बेचेको तर रु ३५ हजार मात्रै पाएको उल्लेख गर्दै ठगी गर्ने दलाललाई सरकारले पक्राउ गरेर कारबाही गरे हुन्थ्यो भन्छन् उनी ।
उनी मृगौला बेचेको कारण बहिष्कृत भएको प्रतिनिधि पात्र मात्रै हुन् । अन्य पीडित पनि यो समस्याबाट गुज्रिएको अनुमान छ ।
ज्याम्दीकै ३१ वर्षीय गणेश परियारले साथीको लहैलहैमा लागेर मृगौला बेचेको उल्लेख गर्दै त्यसबाट आएको रकमले आधा रोपनी जमिन किनेको जिकिर गर्छन् ।
‘पहिले यस्तो होला भन्ने थाहा भएन, अहिले आएको समस्याले ब्यर्थै त्यस्तो काम गरिएछ भन्ने हुन्छ,’ उनको भनाइ छ ।
सुरुमा काभ्रेपलाञ्चोकको होक्से र ज्याम्दी गाविसका करिब १०८ जनाले मात्रै मृगौला बेचेको अनुमानित तथ्याङ्क छ र त्यसबाट अहिले जिल्लाका १० गाविस प्रभावित भएको अनुमान छ ।
मृगौला बेच्ने क्रम नरोकिएपछि जिल्लास्थित गैरसरकारी संस्था जनअधिकार संरक्षण मञ्चले मृगौला बेच्नेको तथ्याङ्क सङ्कलन गरी उनीहरूको अवस्थाबारे अनुगमन गरिरहेको छ । प्रारम्भिक अनुगमनमा काभे्रका ३०० जनाले मृगौला बेचेको पाइएको छ । रासस

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget