कोशीपारीकी ती तामाङ केटी :'गुट नसमाती चुनाव जितिन्न रहेछ'


एमाले निकट अनेरास्ववियुको संगठन विस्तार क्रममा काभ्रेका जिल्लास्तरीय नेता रेशम चौलागाईं र राजेन्द्र फुयाँल कोशीपारीको महेन्द्र मावि (अहिले सिर्जनशिल उच्च मावि) पुगेका थिए। उनीहरूले प्रारम्भिक कमिटीमा ६ कक्षा पढ्ने एउटी सानी तामाङ केटीलाई सदस्य बनाए।

यो २० वर्षअघिको घटना हो। आज तिनै सानी सदस्य त्यही संगठनको सर्वोच्च पद अध्यक्षमा निर्वाचित भएकी छन्।

काभ्रे कोशीपारीकी नविना लामा एमाले अखिल र सम्पूर्ण विद्यार्थी संगठनको इतिहासमा अध्यक्ष बन्न सफल दोस्रो महिला हुन्। अखिलकै पूर्वअध्यक्ष रामकुमारी झाँक्रीबाहेक अरूले यो इतिहास बनाउन सकेका छैनन्। आफ्ना प्रतिद्वन्दी काभ्रेकै दिपक गौतमलाई दुई सय मतले हराउँदै उनी मुलुककै सबैभन्दा जेठो विद्यार्थी संगठनको २३ औं अध्यक्ष बनेकी हुन्।

***

नविनाका पिता मणिक लामा अहिले एमालेमा छैनन्। नविनाले हाँस्दै भनिन्, ‘माओवादी विभाजन भएपछि कुन समूहमा जानुभयो भन्ने पनि थाहा छैन। विप्लवसँग पो नजिक हुनुहुन्छ कि!’

०५४ सालमा एमाले विभाजन भएर माले बन्यो। मणिक पनि मालेमा गए। नविनाले बाबुकै बाटो पछ्याइन्। ०५८ मा पार्टी एकीकरण हुँदा मणिकलाई एमालेमा फर्किन मन लागेन। सिपी मैनाली नेतृत्वको मालेमा बस्न पनि मन लागेन। मालेका धेरै कार्यकर्ताजस्तै उनी माओवादीसँग नजिकिए। यसपटक भने नविनाले बाबुको बाटो पछ्याइनन्। उनी एमालेमा फर्किइन् र अखिलमा क्रियाशिल रहिन्।

पञ्चायतकालमा मणिक निर्मल लामासँग नजिक थिए। चौम समूहका नेता लामासँग मणिकको राम्रै हेलमेल थियो। नविनाले सुनाइन्, ‘निर्मल लामाको सेल्टर हाम्रै घरमा थियो। मेरो बुवालाई राजनीतिप्रति मोह उहाँले नै जगाइदिनुभएको हो।’

निर्मल लामाले जगाइदिएको त्यही मोह नविनासम्म आइपुग्यो।

राजनीतिको बाटो कठिन हुन्छ भन्ने पाठ पनि उनले बुबाबाटै सिकेकी थिइन्। ‘पञ्चायतकालमा बुबा १० वर्ष भूमिगत हुनुभएको थियो। उहाँको शिक्षकको जागिर खोसिएको थियो रे,’ उनले भनिन्।

बुबाको यही इतिहासले उनलाई सानै उमेरमा वामपन्थी राजनीतिप्रति आकर्षण पलाएको थियो। पछि मणिकले जनमोर्चा त्यागे र एमाले प्रवेश गरे। त्यतिबेला नविना सानै थिइन्। उनलाई लाग्यो– एमाले नै राम्रो पार्टी हो, त्यही भएर त बुबा एमालेमा लाग्नुभयो।

केही समयपछि उनी अखिलमा ‘कमिटेड’ भइन्। एक वर्ष नबित्दै प्रारम्भिक कमिटीको अध्यक्ष भइन्। अखिलको सदस्यता लिएको दुई वर्षमै जिल्ला सदस्य बनिन्। त्यतिबेला उनी ८ कक्षामा पढ्दै थिइन्। त्यसपछि राजनीतिका सफलता र अप्ठ्यारा एकपछि अर्को गर्दै भोग्दै गइन्।

कोशीपारी अहिले पनि काभ्रेको दुर्गम गाविस मानिन्छ। हिँडेर दोलालघाट आउनै पूरा एकदिन लाग्ने। बनेपा वा धुलिखेल आउन त दुई दिन। संगठनका बैठक, भेला वा कार्यक्रम सबै बनेपा वा धुलिखेलमै हुने। उनी दुईदिनको बाटो धाएर आइपुग्थिन्।

‘घरबाट जान दिँदैन थे। हजुरबुवा र आमाहरू बाहिर हिँडेको मन पराउँदैन थे,’ उनले सम्झिइन्, ‘घरबाहिर हिँड्नु र बस्नुपर्ने भएपछि समाजले हेर्ने दृष्टिकोण पनि राम्रो नहुने। उनीहरूलाई यो केटी बिग्रिई भन्ने परेको थियो।’

घरमा पनि उनलाई ‘छोरीमान्छेले राजनीति गर्नु हुँदैन’ भनेर बारबार सम्झाउने गर्थे। तर उनी त्यसैबेला देखि जुझारु निस्किइन्। ‘संगठनमा लागेर नै केही गर्न सकिन्छ भन्ने थियो। जसरी भए पनि संगठनमा काम गर्नुपर्छ र संगठन राम्रो बनाउनुपर्छ भन्ने मात्रै थियो त्यसबेला,’ उनी त्यसबेलाका कुरा सम्झिँदै गइन्, ‘पैसाको साह्रै अभाव हुन्थ्यो। राजनीति गर्न घरबाट पैसा पाउने कुरै भएन।’

नविनालाई बुवा मणिकको समर्थन नै थियो तर उनी प्रायः घरबाहिरै रहन्थे।

एसएलसी बेला उनको संघर्षको अर्को अध्याय थपियो।

२०५५ सालमा माओवादीको सशस्त्र संघर्ष निकै विस्तार भइसकेको थियो। त्यही सालको एसएलसी हो उनको। केन्द्र परेको थियो, कात्तिके देउरालीको प्रभा मावि। त्यतिबेलैदेखि यानप्रसाद गौतम ‘आलोक’ लगायतको निकै प्रभाव परेको स्थान। त्यसैले त्यहाँ प्रहरी पनि विशेष चनाखो हुन्थ्यो।

त्यहाँका पुलिस भन्थे, ‘माले भनेकै माओवादी हो।’

नविना त्यही मालेको जिल्लास्तरिय विद्यार्थी कार्यकर्ता। परीक्षा दिन बसेकी मात्र के थिइन्, बन्दुकधारी प्रहरी परीक्षा कोठामा पस्यो। उनको बेञ्चअघि उभियो र लेख्न ठिक्क पारेको कापी खोसिदियो। समातेर नजिकै रहेको चौकीमा लग्यो। सुनिन्, ‘माओवादीलाई एसएलसी लेख्न किन दिने?’

त्यहाँ रोइरहिन्, रुनु बाहेकको अर्को उपाय थिएन। विद्यालयका शिक्षक र वरपरका अभिभावकले पहल नगरिदिएको भए उनले त्यो साल परीक्षा दिनै पाउने थिइनन्। तर, एक घन्टापछि उनलाई प्रहरीले छाडिदियो।

उनले परीक्षा दिइन् र पास भइन्।

***



काभ्रेमा रहँदा उनी माले अखिलको उपाध्यक्ष हुँदै राष्ट्रिय परिषद सदस्यसम्म भइन्। उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आइन्। बानेश्वर क्याम्पस भर्ना भइन्।

काठमाडौं आएको केही वर्षपछि प्रतिगमनविरुद्धको आन्दोलन सुरु भयो। यही समय नेपालको इतिहासका ठूल्ठूला घटना भए। विद्यार्थी संगठनहरूले इतिहासको एउटा कठिन घडीमा आफ्नो जुझारुपनको परिचय दिए। नविना आन्दोलनको यहि भेलमा होमिइन्।

बानेश्वर क्याम्पसमा माले अखिलका तर्फबाट उनी स्ववियु सभापति लडिन्। तर, माले अखिलको संगठन त्यति बलियो थिएन। चुनावै जित्ने हैसियत नै थिएन। उनी हारिन्।

माले–एमाले एकीकरण भएपछिको स्ववियुमा उनी सचिव भइन्। यही स्ववियु थियो जसले राजतन्त्र विरुद्ध निर्णायक संघर्ष गर्यो। ‘गणतन्त्र वा राजतन्त्र’ मध्ये एक छान्न मिनी–जनमत संग्रह गरेका थिए देशैभरका स्ववियुले। सचिव भएकाले विशेष सक्रिय हुनुपर्यो नै। नविना जनमत संग्रहदेखि प्रहरीको निगरानीमा परिसकेकी रहिछन्। पछि मात्रै यो कुरा थाहा पाइन्।

मिनी–जनमत संग्रहको केही समयपछि एकाबिहानै उनको घरअघि एउटा माइक्रो रोकियो। केही बलिया मानिस ओर्लिए र घरको चेन गेट भत्काए। भित्र पसेर चिया पिइरहेकी उनलाई समाते।
‘ती सादा पोशाकका प्रहरी रहेछन्। युनिफर्ममा पनि थिए तर ती चाहिँ बाहिर निस्किएनन्,’ नविनाले भनिन्, ‘बरु बुवाआमाले जसोतसो चित्त बुझाउनुभएछ तर हजुरआमालाई त्यो घटनाले साह्रै नराम्ररी मानसिक आघात पुर्यायो।’

यतिबेला परिवार नै काठमाडौं बस्न थालिसकेको थियो।

माइक्रोमा राखिसकेपछि उनलाई असाध्यै डर लागेको थियो, ‘मार्ने नै पो हो कि भन्ने भयो। कहाँ लैजान्छ के गर्छ भन्ने केही थाहा थिएन। मनमा अनेकौं आशंका उब्जिए। बाँचिन्छ भन्ने आशा खासै थिएन।’

त्यो रात तीनकुनेमा राख्यो। त्यहाँ लामा नै थर भएका इन्पेक्टर थिए, ‘जहिले बोलाएर टर्चर दिन्थ्यो। हप्काउँथ्यो।’ उनको मनभित्र भने लाखौं नेपाली युवाको मनमा झैं विद्रोहको आगो थियो। ‘राजाको विरोध गर्ने?’ भन्दै हप्काउने त्यो लामालाई राजामात्रै होइन, राजतन्त्र नै फालेर देखाइदिने मन थियो। त्यसैले सकेसम्म सहेर बसिन् पाँच दिन।

पाँच दिनपछि खरिपाटी सारियो। त्यहाँ उनले पार्टीका नेता केशव बडाललाई भेटिन्। नेपाली कांग्रेका नेता चीनकाजी श्रेष्ठ र गगन थापालगायत थुप्रै नेतालाई त्यहाँ ल्याइएको रहेछ।

२७ दिनको हिरासत भोगिन्। उनीमाथि देशद्रोहको मुद्दा लगाइयो तर उनले जितिन्। त्यसपछि फेरि पक्राउ परिन् र एक महिना लामो हिरासत भोगिन्।

जनआन्दोलनअघि भएको स्ववियु चुनावबाट उनी बानेश्वर क्याम्पसकी स्ववियु सभापति भइन्। र, ज्यानको बाजी लाएर जनआन्दोलनमा सहभागी भइन्। ‘त्यतिबेला त मार्छ नै भने पनि मरियोस् भन्ने थियो। यस्तो समयमा आँट आउँदो रहेछ,’ उनले भनिन्, ‘पुलिसको डन्ठा त कति खाइयो कति। टियर ग्यासले बेहोस पनि भएँ।’

अन्ततः राजतन्त्र फालेर गणतन्त्र ल्याउने युगिन चाहना त्यही आन्दोलनको बलमा पूरा भयो।

***


अखिलको अध्यक्षसम्म आइपुग्ने लामो यात्रामा उनले संगठनभित्रै पनि संघर्ष गर्नुपर्यो।

१५ औं सम्मेलनबाट माले अखिलको वैकल्पिक केन्द्रीय सदस्य भइन्। एकतापछिको एक कार्यकाल राष्ट्रिय परिषद सदस्य भइन् भने १७ औं सम्मेलनबाट फेरि वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भइन्। चितवनको १८ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै उनी महिला विभाग प्रमुख बनिन्।

पोखराको १९ औं राष्ट्रिय सम्मेलनबाट फेरि केन्द्रीय सदस्य बनिन् र प्रचार विभाग प्रमुखको जिम्मेवारी समालिन्। पोखरा सम्मेलन एउटा ऐतिहासिक सम्मेलन थियो, जसले रामकुमारी झाँक्रीलाई अध्यक्षमा निर्वाचित गरी अखिल र सम्पूर्ण विद्यार्थी संगठनकै इतिहासको पहिलो महिला अध्यक्ष बनाएको थियो।  

जनकपुर सम्मेलनबाट उनी महासचिव बन्न चाहन्थिन्। संगठनका कतिपय नेता भने उनलाई संगठनबाटै बिदा गर्ने पक्षमा थिए। ‘त्यो थाहा पाउँदा मलाई असाध्यै दुःख लाग्यो। जसलाई काँधमा बोकेर हिँडियो, जसलाई नेता बनाउन दिनरात मेहेनत गरियो, उसले नै संगठनबाट बिदा गर्नुपर्छ भन्दा कस्तो हुँदो हो?’ उनले भनिन्।

उनले उपाध्यक्षको टिकट पाइन्, ‘मेरा साथीहरू र पार्टीका नेताले त्यसो हुन दिनुभएन। नविनालाई लिएर नै जानुपर्छ भनेपछि मलाई टिमले उपाध्यक्षको टिकट दियो। जित्न पनि नविनालाई अगाडि सार्नुपर्छ भन्ने थियो।’

उपाध्यक्षमा लोकप्रिय मत ल्याएर विजयी भइन्। उपाध्यक्ष भएपछि कि त अध्यक्ष हुनुपर्यो कि त संगठनबाट बिदा हुनुपर्यो। उनी अध्यक्ष लड्न चाहन्थिन्। निवर्तमान अध्यक्ष किशोरविक्रम मल्लसँग प्रतिस्पर्धामा उत्रिन तयार थिइन्। तर, त्यतिबेलाको झलनाथ–वामदेव प्यानलले उनलाई अध्यक्षको टिकट दिएन।

‘टिम’ले टिकट नदिएपछि एकमनले त संगठनबाट बिदा लिउँ कि जस्तो पनि लागेको थियो उनलाई, ‘फेरि बागी उम्मेदवारी दिने पनि सोचेँ। तर त्यसो गर्यो भने त झन् राजनीतिक जीवन नै समाप्त हुन्छजस्तो लाग्यो ।’

पार्टी र संगठनकै नेताहरुले उनले अध्यक्ष चलाउन सक्छिन् भन्ने विश्वास गरेनन्। साथीहरुको मायाले उनलाई संगठनबाट बाहिरिन दिएन। राजनीतिक भविष्य समाप्त हुने सम्भावनाले गुट नसमाती उम्मेदवारी दिन सकिनन्।

उनका लागि संगठनको इतिहासमा नयाँ र अलि अप्रिय विकल्प सुनाइयो, महासचिवमा उम्मेदवारी दिने। ‘प्रोटोकल’मा एक तह तल झर्नुपर्ने विकल्प साथीहरु र पार्टीका नेताहरुको आग्रहमा स्वीकार गरिन्, ‘संगठन विधि र प्रक्रियामा चलेको भए यस्तो परिस्थिति आउने थिएन। टिमले जे भन्छ त्यो मान्नैपर्ने हुन्छ। टिमका साथीहरु र नेताहरुले सम्झाएपछि मैले त्यो निर्णय लिएँ।’

प्रतिस्पर्धी रचना खड्कालाई १३ भोटले हराउँदै उनी महासचिवमा विजयी भइन्। अध्यक्षमा केपी ओली–माधव नेपाल निकटका मल्ल विजयी भए। एमालेको महाधिवेशनले पार्टीको समीकरण बदल्यो। वामदेव गौतम र केपी ओली एउटै कित्तामा आइपुगेपछि नविना र मल्ल पनि केपी ओली पक्षमा भए।

यही ‘टिम’बाट उनले यसपालि अध्यक्षको टिकट पाइन् र जित हात पारिन्।

***

‘अध्यक्ष भएपछि के गर्नुहुन्छ त?’

गुटबन्दी निर्मूल पारेर संगठनलाई विधि र प्रक्रियाका आधारमा चलाउने कुरामा उनले निकै जोड दिइन्।

नविनाले तय गरेको यो लक्ष्य त्यति सजिलो छैन। उनले त्यो महशुस गरेकी छन्, ‘अहिलेको युवा पुस्ता निकै अराजक छ। फेरि पार्टीमै अराजकता बढेको त सत्य हो नि। आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने नाममा गुटबन्दी र अराजकता तलतलसम्म पुगेको छ।’

विधि र प्रक्रियाको सही अभ्यास नै यसको समाधान भएको उनको ठहर छ। यो अराजकता चिरेर जाने अठोट पनि छ,’ मैले यो २० वर्षमा गुटगत नजरले मात्रै कसैलाई हेरेको छैन। चुनाव त प्राविधिक कुरा हो। आज पार्टी–संगठन जुन अवस्थामा छ, त्यसले कुनै न कुनै गुट नसमाती नहुने भएको भएर मात्रै हो। मभन्दा बढी योगदान गरेका र क्षमता भएका साथीहरु हार्नुभएको छ, यो गुट उ गुट नभनी सबैलाई कुनै न कुनै जिम्मेवारी र सम्मान दिएर अघि बढ्छु।’

संगठनको वैचारिक धार तिखो पार्ने उनको अर्को लक्ष्य छ। यसलाई उनले अराजकतासँग लड्ने हतियार ठानेकी छन्। तर, नविनाको आफ्नै वैचारिक स्तर असाध्यै कमजोर भएको भन्दै आलोचना गर्ने थुप्रै छन्। अखिलको अध्यक्षमा हुनुपर्ने राजनैतिक चेतना नविनासँग नभएको उनका आलोचक भन्छन्। नविनाले आफ्नो दुई वर्षको कार्यकालमा यसको जवाफ दिनुपर्ने छ। उनी आफैं भन्छिन्, ‘वर्तमानको चुनौतिलाई चिर्नु आवश्यक छ। हिजो मैले यति योगदान गरेँ, यस्तो संघर्ष गरेँ भनेर मात्रै नेता भइँदैन नि।’

कार्यकर्तासँग सहज रुपमा प्रस्तुत हुन सक्ने, छिट्टै घुलमिल हुने र खुलेर सहयोग गर्ने स्वभाव उनको पुँजी हो। तर, उनको राजनैतिक चेतना र संगठन सञ्चालन गर्ने क्षमतामाथि उठेका प्रश्नको जवाफ दिनलाई उनीसँग दुई वर्ष मात्रै छ।

***

अखिलको अध्यक्षसम्मको यात्रा तय गर्दा उनको उमेरले तीन दशक नाघिसकेको छ।

‘अब त बिहेको बारेमा पनि केही सोच्नु भएको होला?’

एकछिन रोकिइन्। अलिकति हाँसिन् र भनिन्, ‘यतिञ्जेल संगठन र राजनीतिक जीवनको मात्रै योजना बनाइयो। व्यक्तिगत जीवनको योजना बनाउनेतिर ध्यानै गएन।’

अन्त्यमा त्यो योजना पनि सुनाइन्, ‘अखिलको अध्यक्ष भएपछि एउटा यात्रा उत्कर्षमा आइपुगेजस्तो लागेको छ। अब यही दुई वर्षभित्र अखिलको अध्यक्ष भएकै बेला बिहे गर्ने सोच बनाएकी छु। तर सोच मात्रै हो, हेरौं के हुन्छ।’

setopat
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget