म्याग्दी विमान दुर्घटनाः निधन भएको ६ घण्टासम्म पनि यिनको लास उठाउने कोही भइदिएन्

विमान चालक दलका सदस्य
– सन्तोष गौतम
दाना (म्याग्दी), १२ फागुन । विमान दुर्घटना भएको ठाउँ म्याग्दीको दाना गाविस–२ स्थित सोलीघोप्टे भीर वरपर बाक्लो हुस्सु लागेका कारण उद्धारमा कठिनाइ भइरहेको छ ।
प्रतिकूल मौसमका कारण दुर्घटनास्थलमा उद्धारका लागि आएका दुई वटा हेलिकप्टर अवतरण गराउन सकिएको छैन । नेपाली सेना तथा निजी क्षेत्रको अर्को हेलिकप्टर दुर्घटनास्थल वरपर अवतरणको प्रयास गरिरहेका छन् । तर बाक्लो हुस्सु लागेका कारण अवतरण गर्न मुस्किल भइरहेको छ ।
अहिले दुर्घटनास्थलमा दाना प्रहरी चौकीबाट गएका प्रहरी जवान फूलकुमार थापा र स्थानीय चारजना बासिन्दा रहेका छन् । प्रहरी नायब उपरीक्षक विश्वराज खड्काका अनुसार प्रहरी जवान थापाले विमान दुर्घटना भएको खबर गरेका थिए ।
सदरमुकाम बेनीबाट गएको खड्कासहितको टोली अहिले दाना गाविस–२ काभ्रे जङ्गल पुगेको छ । उक्त ठाउँ विमान दुर्घटना भएको ठाउँदेखि एक घण्टा वर रहेको छ ।
प्रहरी जवान थापाका अनुसार विमानमा आगो लागेको र शव टुक्रा/टुक्रा भएर छरिएर रहेका छन् । सग्लो नभएका कारण शव चिन्न सकिने अवस्थामा छैनन् । ६ घण्टा वितिसक्दा पनि मृतकहरुको शव उठाउन कोही पुग्न सकेका छैनन् ।
दुर्घटनाको खबर पाएलगत्तै आज बिहानै डिएसपी खड्का, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक र केही सञ्चारकर्मीसहितको टोली घटनास्थलतर्फ गएको छ ।
अहिले मुस्ताङबाट आएको नेपाली सेनाको टोलीसमेत घटनास्थलतर्फ गइरहेको छ । सेनाको टोली मुस्ताङको लेते गाविसस्थित घाँसासम्म हेलिकप्टरमा र त्यहाँबाट पैदल घटनास्थलतर्फ गइरहेको बताइएको छ । बाक्लो कुइरो लागेका कारण विमान पहाडमा ठोक्किएको हुनसक्ने अनुमान गरिएको छ ।
आज बिहान ७.५० बजे जोमसोमका लागि उडेको विमान केही समयमै सम्पर्कबिहीन भएपछि नेपाली सेनाको हेलिकप्टर र एयर डाइनेष्टी मार्फत खोजी सुरु गरिएको थियो ।
नागरिक उड्डयन कार्यालय पोखराका प्रशासकीय अधिकृत काशीनाथ पौडेलका अनुसार विमानमा कास्कीका रेवती बराल र मुक्तिनाथ वास्तोला, मुस्ताङ्की विनिता भट्टचन, कृष्णलाल भट्टचन, दिलकुमारी गौचन, लक्ष्मी हिराचन, र कान्छा परियार रहनुभएको थियो ।
त्यस्तै, अन्य यात्रुमा मोतीबहादुर केसी, पासाङ लामा, बालकृष्ण न्याउरे, डोल्मा तासिङ शेर्पा, राजकुमारी तामाङ, कमला थकाली, चिनियाँ नागरिक माक्सुइद, कुवेतका अहमद रसिद रहेका छन् भने दुईजना बालबालिकाको नाम खुलेको छैन । चालक दलका क्याप्टेन रोशन मानन्धर, सह क्याप्टेन दिकेस नेम्कुल र परिचारिका रमा रावत रहेका छन् । रासस
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget