चिनियाँ अर्बपति भन्छन्, 'नेपालको सौर्य ऊर्जामा लगानी गर्छु'

२०७२ फाल्गुन १२ बुधवार

काठमाडौं: चिनियाँ अर्बपति हुङ मिङले नेपालको सौर्य क्षेत्रमा लगानी गर्ने बताएका छन्। काठमाडौंमा आयोजित मेक नेपाल ग्रिन (हरियो नेपाल, बलियो नेपाल) कार्यक्रममा भाग लिन आएका मिङले नेपालमा सौर्य ऊर्जाको व्यावसायिक सम्भावना रहेको औंल्याए।

मिङले चीनमा सौर्य ऊर्जाबाटै सञ्चालित उपत्यका बनाएका छन्। बेइजिङबाट एक घन्टाको यात्रामा पुगिने देजहुमा ३० लाख वर्गमिटर क्षेत्रफलको सम्पूर्ण क्षेत्र नै सौर्य ऊर्जामा निर्भर छ। सौर्य ऊर्जाका लागि सम्पूर्ण अध्ययन तथा अनुसन्धानका लागि यो क्षेत्र विश्वभर प्रसिद्ध छ।


सप्रोस नेपालले आयोजना गरेको कार्यक्रममा मंगलबार मिङले आगामी महिना हुने अपेक्षा गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला सौर्य ऊर्जामा सहयोगको औपचारिक घोषणा हुनसक्ने बताए। चीनको हिममिन सौर्य ऊर्जा समूहका संस्थापक रहेका मिङ प्रतिष्ठित 'राइट लाइभ्ली हुड अवार्ड' का विजेता हुन्।

'नेपालमा सौर्य ऊर्जाका लागि लगानी गरी प्रतिफल प्राप्त गर्न सकिने प्रशस्तै सम्भावना छन्, सहयोग गर्न तयार छु’, मिङले भने । उनले सौर्य ऊर्जामा आधारित उत्पादनको प्रदर्शनी गर्दै ग्रामीण गरिबी तथा सामाजिक उद्यमीलाई लक्षित गर्ने गरी विभिन्न परियोजना सञ्चालन गर्ने योजना पनि सुनाए।

मिङले दैनिक जीवनका सबै आवश्यकता र काम सौर्य ऊर्जाको सहयोगले गर्न सकिने प्रविधिको विकास गरेका छन्। कार्यक्रममा सौर्य ऊर्जाको प्रयोगबारे उनले बनाएका विभिन्न प्रविधिसमेत प्रदर्शनीमा राखिएको थियो।

हरित विकासका क्षेत्रमा काम गरिरहेका संघसंस्थाको पहलमा राजधानीमा सम्पन्न कार्यक्रमपछि सरोकारवालाले विभिन्न प्रतिबद्धतासहित हरियो नेपाल बनाउन काठमाडौं घोषणापत्र जारी गरेका छन्। कार्यक्रममा हरित नेपाल बनाउन राजनीतिज्ञ, नीति निर्माता, बैंकिङ क्षेत्र, किसान, नागरिक समाज तथा अनुसन्धानकर्ताले प्रतिबद्धता जनाएका हुन्।

हरित नेपाल निर्माणको परिकल्पना गरिएको काठमाडौं घोषणापत्रमा दिगो कृषि प्रवद्र्धन, नवीकरणीय ऊर्जा, पर्यापर्यटन र सूचनाप्रविधिको प्रयोगमा जोड दिइएको छ। त्यसमा प्रविधिको प्रयोग गर्दै दिगो विकासमार्फत ग्रामीण गरिबी निवारणको परिकल्पना गरिएको छ।

घोषणापत्रको सफल कार्यान्वयनका लागि विभिन्न सरोकारवाला निकायसँग सहकार्य, समन्वय र समुदायसम्म यो अभियानको महत्व विस्तार गरिने कार्यक्रम आयोजक संस्था सप्रोस नेपालका अध्यक्ष श्रीकृष्ण उपाध्यायले बताए।

उनले नेपाललाई दिगो विकासका लागि वातावरणीय संवेदनशीलता आवश्यकता भइसकेकोमा जोड दिए। नेपाल सरकारले सौर्य ऊर्जाको प्रवद्र्धनलाई जोड दिएको छ।

कार्यक्रममा राइट लाइभ्लीहुड अवार्ड विजेताले प्रस्तुति दिएका थिए। सोलार किङका रूपमा चिनिने मिङसहित नेपालको दिगो विकासमा काम गरिरहेका अवार्ड विजेता श्रीकृष्ण उपाध्यायले कार्यक्रम संयोजन गरेका थिए।

अवार्ड विजेता लदाक इकोलोजिकल डिभेलोपमेन्ट ग्रुपका कार्यकारीनिर्देशक लोवजाङ च्सुल्लिमले स्काइममा दिगो विकास अभियान सुनाएका थिए।

अवार्ड विजेता सेइकात्सु क्लब कन्जुमरका अध्यक्ष कोइची कातोले जापानबाटै हरित अभियान र उपलब्धिबारे प्रस्तुति दिएका थिए। राइट लाइभ्लीहुड अवार्ड सन् १९८० मा स्थापना भएको हो। यो अवार्ड हरेक वर्ष स्विडिस संसद्मा प्रदान गरिन्छ।
annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget