सुष्माको भाषणः भारतले मुठ्ठी छोडेको संकेत तर, संयुक्त विज्ञप्तिमा अझै बार्गेनिङ

२०७२ फागुन ११ गते
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सोमबार दिएको अभिव्यक्तिले नेपाली भ्रमण टोली निकै उत्साहित छ । भारतसँग असमझदारी हटेको दाबी प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री कमल थापाले गरिरहँदा स्वराजको अभिव्यक्तिले साँच्चै असमझदारी हटेको र भारत सन्तुष्ट बनेको प्रतीत हुन्छ ।
सुष्माले संविधान संशोधन र सीमांकन परिमार्जनका लागि गठित समितिले मधेस आन्दोलनलाई सम्वोधन गरिसकेको प्रष्ट शब्दमा बताइन् । उनले मोदीले जसरी ‘सबैलाई मिलाएर अघि बढ्नुपर्छ’ भन्नेखालका सुझाव थोपर्न चाहिनन् ।
नाकाबन्दीयता भारतीय संस्थापनको जिम्मेवार व्यक्तिले नेपालका विषयमा पहिलोपटक यति सकारात्मक अभिव्यक्ति दिएको हुनुपर्छ ।
इन्डियन काउन्सिल फर वल्र्ड अफेयर्समा ओली र थापाका बीचमा बसेकी थिइन् सुष्मा । सबैभन्दा पहिले उनैले बोलिन् । आफ्नो मन्तव्यको प्रारम्भमा उनले प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना यसरी दिइन्:
‘आज एउटा सुखद संयोग छ । मैले ओलीजीको बायोडाटा हेर्ने मौका पाएकी थिएँ । उहाँको जन्मदिन २२ फेब्रुअरी, १९५२ रहेछ । मेरो जन्मदिन हो, १४ फेब्रुअरी १९५२ । म ८ दिनले जेठी रहिछु । दिदीको हिसाबले म ओलीजीलाई धेरै धेरै शुभकामना दिन चाहन्छु । भगवानले उहाँलाई दीर्घायू बनाउन् । स्वस्थ भएर उहाँले नेपालको सेवा गर्न पाउनुहोस् ।’
यसरी माहौल बनाएपछि उनले परम्परागत शैलीमा दुई देशको सम्वन्धको महिमा गाइन् । ‘नेपाल र भारतको सम्वन्ध अहम् छ । यो भूगोलमा मात्रै आधारित नभएर भावनामा पनि आधारित छ । व्यापारमा मात्र नभएर ‘प्यार’ मा पनि आधारित छ ।’ सरकारमा मात्र आधारित नभएर जनतामा पनि आधारित छ ।’
‘यसको सबैभन्दा ठूलो उदाहरण हो,’ उनले भनिन्, ‘१७ वर्षसम्म कुनै प्रधानमन्त्री नेपाल गएको थिएन । २३ वर्षसम्म ज्वाइन्ट कमिसनको बैठकसमेत भएन । तर, मानिसहरुको सम्वन्ध उस्तै प्रगाढ रह्यो । रोटीबेटीको सम्वन्ध जारी रह्यो । त्यसैले यो सम्वन्ध सरकारको ‘मौताज’ होइन । यो मानिसहरुको स्वतस्फुर्त भावनाबाट बनेको हो ।’
उनले भनिन्- ‘२६ मईमा हाम्रो सरकार बन्यो । २६ जुलाईमा ज्वाइन्ट कमिसनको मिटिङ गर्न म नेपाल गएँ । मेरो यात्राभन्दा एक सप्ताहपछि मोदीजीको नेपाल यात्रा भयो । मोदीजीले नेपालको संसदमा दिनुभएको भाषणका वाक्यहरु घरघरमा गुञ्जिएका थिए । जस्तै ऋषिमनबाट संविधान, युद्धबाट शान्ति, शस्त्रबाट शास्त्र ।’
‘मोदीजी नेपाल भ्रमणमा गएको केही समयपछि नेपालमा ठूलो भूकम्प गयो । त्यतिबेला हामीलाई लागेको थियो, सायद संविधानको प्रक्रियामा ढिलाइ हुने छ । किनकि नेपालले नयाँ आपतसित लड्नुपरेको छ । तर, म बधाइ दिन चाहन्छु कि नेपालका राजनीतिक दलले त्यतिबेला परिपक्वता देखाए । यो समय संविधान नबनाउने होइन, चाँडो संविधान बनाउने हो, ताकि सारा राजनीतिक नेतृत्व एकैठाउँ देखिउन् भन्ने महसुस गरे । र, चाँडै संविधान बनाएर दिए । चिरप्रतिक्षित संविधान अगाडि आयो । हामीले स्वागत गर्‍यौं ।’
सुष्माले थप व्याख्या गरिन्- ‘तर त्यसपछि केही मुद्दा उठे । मधेसीलाई लाग्यो कि हामीले राजनीतिक प्रतिनिधित्व अपेक्षाभन्दा कम पायांै । त्यसैले केही कुरा आए । तर, म फेरि नेपालका राजनीतिक नेतृत्वप्रति आभार व्यक्त गर्न चाहन्छु । संविधान बन्नासाथै संशोधन हुँदैन । तर, उहाँहरुले मधेसीको मागलाई जायज मागेर दुई संशोधन गर्नुभयो । त्यतिबेला प्रधानमन्त्री सुशील कोइराला हुनुहुन्थ्यो । ओलीजी तपाईंलाई धन्यवाद व्यक्त गर्न चाहन्छु कि, तपाईंले ती संशोधनलाई अझै राम्रो बनाएर आफ्नो नेतृत्वमा पारित गर्नुभयो । जो मधेसीको मनमा शंका थियो, उहाँहरुको प्रतिनिधित्व कम भयो भन्ने, त्यसलाई सुनिश्चित गर्नुभयो । बाँकी जुन माग छन्, तपाईंले स्वयम् मसित कुरा गर्नुभयो र भन्नुभयो, यसका लागि राजनीतिक संयन्त्र खडा गरिनेछ । भारत आउनुअघि तपाईंले त्यो मेकानिज्म घोषणा गरेर आउनुभएको छ । कमल थापा यसको अध्यक्ष हुनुहुन्छ । राजनीतिक वर्तालापबाट समाधान निकालिन्छ भन्नुभएको छ । यही लोकतन्त्रको शक्ति हो ।’
झूठ र पाखण्डको खिचडी
सरसर्ती सुन्दा सुष्माको भाषण निकै परिवर्तित र सहृदयी प्रतीत हुन्छ । ओलीलाई प्रधानमन्त्रीमा देख्नै नचाहेको देशकी विदेशमन्त्रीले आज तिनै ओलीको गुणगान गाइरहेकी छिन् ।
तर, अलिकति गहिरिनासाथ सुष्माको भाषणमा झूठ र पाखण्ड मिसिएको भेटिनेछ । संविधान जारी हुँदा भारतले स्वागत गररेको थियो भनेर उनले ठाडै झूठ बोलिन् । चाँडो संविधान जारी गरेर परिपक्वता देखाएको भनेर प्रशंसा गरिरहँदा उनले यो भुलिन् कि संविधान जारी गर्नबाट रोक्न उनकै मन्त्रालयका सचिव दौडादौड गर्दै नेपाल आएका थिए र उनैको दबावका बाबजुद नेपालले संविधान निर्माण गरेपछि भारतले ४ महिना नाकाबन्दी लगाइदिएको थियो । नेपालीहरुको स्मरणशक्ति यति कमजोर छ भन्ने सुष्माले कसरी ठानिन् ?
उनले संविधान संशोधन गरेकोमा नेपालप्रति ‘आभार’ व्यक्त गरिन् र ओलीलाई धन्यवादसमेत दिइन् । यसको आशय के हो ? नेपालमा संविधान संशोधन हुँदा भारत किन आभारी हुनुपर्ने ? सुष्माले किन धन्यवाद दिनुपर्ने ? संविधानलाई नेपालको आन्तरिक मामला बताउने भारतले त्यसको संशोधनप्रति खुशी मनाउनुको औचित्य के हो ? के यसको सीधा अर्थ संविधान संशोधन भारतको एजेन्डा थियो भन्ने हो ? के उनले यसैको घुमाउरो स्वीकारोक्ति दिएकी हुन् ? प्रश्न उठाउने ठाउँ छ ।
भारत नेपालको भाइ हो कि दाजु ?
सुष्माले आफूलाई उमेरका आधारमा ओलीकी दिदी बताइन्, यसमा आपत्ति भएन । तर, उनले भारतलाई नेपालको दाजूका रुपमा व्याख्या गर्न खोजिन्, जुन निन्दनीय छ । ‘बिग ब्रदरको मतलव ठूलो दाजु मात्र नभएर जेठो दाजु पनि हुन्छ । ठूलो दाजुमा अहंकार हुन्छ । तर, जेठो दाजुमा सरोकार हुन्छ । भारत नेपालको जेठो दाजु हो ।’ उनले भारत नेपालको जेठो दाजु के आधारमा भयो भन्ने चाहिँ खुलाइनन् ।
जबकि १९४७ मा स्वतन्त्र भएको भारतभन्दा धेरै अगाडिदेखि नेपाल स्वतन्त्र मुलुक हो । नेपाल र भारत मित्रहरु हुन् । साथी हुन् । दाजुभाइकै सम्वन्ध गाँस्ने हो भने स्वतन्त्र राष्ट्रका रुपमा, नेपाल भारतभन्दा धेरै जेठो दाजु हो ।
नरम हुनु वाध्यताको उपज
त्यसो त, दुई दिनअघि ओलीसँगको संयुक्त पत्रकार सम्मेलनमा आफ्ना प्र्रधानमन्त्री नरेन्द्र मोदीले दिएको अभिव्यक्तिको स्पिरिट भन्दा अगाडि बढेकी छिन् सुष्मा । मोदीले पनि संविधानलाई महत्वपूर्ण उपलब्धि बताएकै थिए । तर, बाँकी विवादलाई सहमतिमा सुल्झाउनुपर्ने सुझाव दिन बिर्सेका थिएनन् । सुष्माको भाषणबाट नेपाली पक्ष उत्साहित हुनुको प्रमुख कारण यही हो कि उनमा पहिलोपटकको जस्तो ‘सहमति र सहकार्य’ को सुगारटाइ यसपटक थिएन ।
यद्यपि, सुष्माको अभिव्यक्ति हृदयको आवाजभन्दा बढी बाध्यताको उपज हुन सक्छ । भारतले नेपालमाथि लिएको दबावमूलक नीति असफल भएपछिको ‘फेस सेभिङ’ हुन सक्छ । यिनै सुष्मा थिइन्, जो भारतको संसदमा कड्किएकी थिइन्, नेपालको नयाँ संविधानले भारतीय बुहारीहरुलाई नागरिकताबाट वञ्चित गरेको छ भन्दै । संविधानमा अहिले नागरिकतासम्वन्धी व्यवस्था जस्ताको त्यस्तै छ, तर, सुष्मा आफ्नो बोली फेर्न बाध्य भएकी छिन् ।
सुष्माभन्दा पछि बोलेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली नागरिताको प्रसंग निकाल्नु अर्थपूर्ण थियो । उनले नयाँ संविधान जारी भएयता कति भारतीय महिला र पुरुषले अंगीकृत नागरिकता लिए भन्ने फेहरिस्त प्रस्तुत गरेर सुष्माले फैलाउन खोजेको भ्रमलाई ढिलै भए पनि जवाफ दिए ।
तथापि भारतमा प्रधानमन्त्री ओलीलाई गरिएको स्वागत र सोमबार व्यक्त सुष्माको भाषणले दुई देशबीच सौहार्दता कायम भइसकेको छनक दिए पनि भारतले अझै पनि बार्गेनिङ गर्न भने छाडेको छैन । भ्रमणको चौथो दिनसम्म दुई देशको संयुक्त वक्तव्य जारी नहुनुको कारण यही हो ।
onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget