एनफिल्डको ६ गोलको दृश्य

लन्डन- जोए एलेनले अन्तिम मिनेटमा बराबरी गोल गरेपछि लिभरपुलले बुधबार राति घरेलु मैदानमा इङ्लिस प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँग ३–३ को नाटकीय बराबरी नतिजा निकालेको छ। लिचेस्टरले विजय हासिल गर्दै शीर्ष टोलीसँग अंक बराबरी गरेको दिन अंक बाँडेपछि आर्सेन वेंगरको आर्सनल दोस्रो स्थानको लिचेस्टरलाई २ अंकले पछि पार्ने मौकाबाट चुक्यो। घरेलु एनफिल्ड मैदानमा वेल्सका मिडफिल्डर एलेनले अन्तिम मिनेटमा उत्कृष्ट भलीमार्फत बराबरी गोल गरेका थिए।

रोबर्टो फिर्मिनोले दुई गोल गरेको खेलमा लिभरपुलले सुरुमै दुईपटक अग्रता लिए पनि अन्तमा आर्सनल अघि बढेको थियो। फिर्मिनोको गोलमा १० औं मिनेटमा अग्रता लिएको लिभरपुललाई चार मिनेटपछि आर्सनलका आरोन राम्सेले गोल गर्दै बराबरीमा ल्याएका थिए। लगत्तै १९ औं मिनेटमा फिर्मिनोकै गोलमा लिभरपुलले दोस्रोपटक अग्रता लियो। आर्सनलका लागि दुई गोल गरेका ओलिभर जिरौडले २५ औं मिनेटमा दोस्रोपटक भ्रमणकारी टोलीलाई बराबरीमा ल्याएका थिए।

जिरौडले व्यक्तिगत दोस्रो गोल ५५ औं मिनेटमा गरेर ३–२ ले अघि बढाएपछि आर्सनल जितको बाटोमा लम्केको थियो। तर, एलेनले अन्तिम मिनेटमा गोल गर्दै वेंगरको टोलीलाई निराश पारे।

त्यस्तै रोबर्ट हथले अन्तिम ७ मिनेट बाँकीमा गरेको गोलमा लिचेस्टरले चौथो स्थानको टोटेनह्याममाथि १–० को अवे जित पायो। आइतबार एफए कपमा टोटेनह्यामले लिचेस्टरसँग २–२ को बराबरी नतिजा निकालेको थियो।

उपाधि दौडको अर्को टोली तेस्रो स्थानको म्यानचेस्टर सिटी भने घरेलु मैदानमा एभर्टनसँग गोलरहित बराबरीमा रोकियो।

'आजको नतिजाबाट म अत्यन्तै निराश छु। तर, टोलीको प्रतिबद्धता र मिहिनेतमा म कुनै खोट लगाउन सक्दिनँ,' आर्सनलका प्रशिक्षक वेंगरले भने, 'हामीले राम्रो सुरुआत गर्न सकेनौं। १–० ले पछि परेपछि मात्र हामीले सही रूपमा खेल्न थाल्यौं। हामी यो खेलबाट धेरै सकारात्मक पक्षका साथ फर्केका छौं। पछुतो मान्नुपर्ने केही कुरा रहे।'

आर्सनलले आइतबार स्टोक सिटीको भ्रमण गर्नेछ। तर, जिरौडले ५५ औं मिनेटमा गरेको गोलको अग्रता जोगाउन नसकेपछि वेंगरले स्टोकविरुद्धको खेल पनि सहज रूपमा नलिन खेलाडीलाई चेतावनी दिएका छन्।

लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले अन्तिममा एक अंक लिन सक्दा चित्त बुझाए पनि सन्तुष्ट हुन नसक्ने प्रतिक्रिया दिए। 'आजको खेलमा गोलको वर्षा भयो। तर, खेल सकिइसक्दा त्यहाँ धेरैथोक सही भएन भन्ने बुझ्नु जरुरी छ,' क्लोपले भने।

यसैगरी जेम्स म्याकक्लिनले समय सकिन चार मिनेट बाँकीमा गोल गरेपछि वेस्ट ब्रोमले स्टामफोर्ड ब्रिजमा चेल्सीसँग २–२ को बराबरी नतिजा निकाल्यो। सिजर एज्पिलिक्वेटाले दिलाएको चेल्सीको अग्रता क्राएग गार्डनरले पहिलो हाफमै बराबरीमा ल्याए पनि वैकल्पिक खेलाडी केनेडीले घरेलु टोलीलाई जितको बाटोमा डोर्यालउन खोजेका थिए। तर, म्याकक्लिनले अन्तिम समयमा बराबरी गोल गरे।

जेर्माइन डिफोले ह्याटि्रक गरेको खेलमा रेलिगेसन क्षेत्रको सन्डरल्यान्डले स्वान्सी सिटीमाथि ४–२ को जित दर्ता गराउँदै सुरक्षित क्षेत्रसँगको दुरी एक अंकमा झारेको छ। काइल नघ्टनले ३७ औं मिनेटमा रातो कार्ड पाएपछि स्वान्सीले आधाभन्दा बढी समय १० जनामा समेटिएर खेल्नुपरेको थियो।

यसैगरी शेन लङ र डुसान टाडिकको गोलमा साउथह्याम्पटनले वाट्फोर्डमाथि २–० को नतिजा निकाल्यो।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget