प्रधानमन्त्रीको भारत र चीन भ्रमण तयारी

माघ ५, २०७२- प्रधानमन्त्री केपी ओलीको भारत तथा चीन भ्रमणको तयारीका लागि उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सोमबार दुवै देशका राजदूतसँग छलफल गरेका छन् । थापाले भारतीय राजदूत रणजित राय र चिनियाँ राजदूत उ छुन्थाईसँग परराष्ट्र मन्त्रालयमा छुट्टाछुट्टै छलफल गरेका हुन् ।

थापाले राजदूत रायसँग दुईपक्षीय सम्बन्धको समीक्षाका साथै प्रधानमन्त्री ओलीको भारत भ्रमण कहिले र कुन–कुन विषयमा केन्द्रित हुने भन्ने विषयमा छलफल गरेका हुन् । प्रधानमन्त्रीको भ्रमणका लागि माघ अन्तिम साता वा फागुनको पहिलो साताभित्र समय मिलाउन नेपालले यसअघि नै भारतलाई प्रस्ताव गरिसकेको छ । भारतले निमन्त्रणा दिएपछि नेपालका तर्फबाट ती मिति प्रस्ताव गरिएका हुन् । प्रधानमन्त्रीको भ्रमणअघि परराष्ट्र सचिवस्तरीय बैठक गर्ने तयारी मन्त्रालयको छ ।

प्रधानमन्त्रीको भारत भ्रमण सकेसम्म छिटो हुने गरी तयारी भएको भए पनि यसअघिका सम्झौताहरू कार्यान्वयनको पाटोमा पनि ध्यान दिने भनिएकाले उक्त बैठक गर्ने तयारीमा मन्त्रालय लागेको छ । सरकारले प्रबुद्ध व्यक्तिहरूको समूह (इमिनेन्ट पर्सन गु्रप) गठनको तयारी, दुई पक्षीय सम्बन्धमा देखिएको उतारचढावको समीक्षा, वाणिज्य व्यापारको नवीकरणको तयारी लगायतका विषयमा समेत छलफल अघि बढाएको छ ।

राजदूत रायसँग तराईको समस्या, नाकाबन्दीपछिको अवस्थादेखि प्रधानमन्त्रीको भारत भ्रमणसम्मको अवस्थाका बारेमा छलफल भएको अधिकारीहरूले बताए । उपप्रधानमन्त्री थापाले नेपाल–भारत सम्बन्धलाई उचाइमा पुर्‍याउन सबैभन्दा पहिले पुरानो अवस्थामा ल्याउनु जरुरी रहेकोमा पनि जोड दिएका थिए । वीरगन्ज नाका खुला हुनु आवश्यक रहेको भन्दै उनले त्यसका लागि पनि भारतले ध्यान दिनुपर्ने उल्लेख गरेका थिए । राजदूत रायले भने अहिले जनतामा देखिएको भारतविरोधी भावना कम गराउन के गर्न सकिन्छ भन्नेबारेमा चासो राखेको अधिकारीहरूले बताए ।

चिनियाँ राजदूत उ छुन्थाईसँगको भेटवार्ता पनि प्रधानमन्त्रीको चीन भ्रमणमा केन्द्रित रहेको जनाइएको छ । भारतबाट फर्केलगत्तै प्रधानमन्त्री ओली चीन जाने तयारीमा छन् । कांग्रेसको महाधिवेशनलगत्तै चीन जाने गरी तयारी अघि बढेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए । चिनियाँ राजदूतसँगको छलफलमा इन्धन ल्याउनेदेखि सडक सञ्जाल विस्तार, रेलमार्गलगायत विषयमा सम्झौताको तयारी, सहयोगलगायतबारे छलफल भएको परराष्ट्र अधिकारीले बताए ।

उपप्रधानमन्त्री थापाका सल्लाहकार मोहनकुमार श्रेष्ठले भारत र चीनका राजदूतसँग भएको भेट नियमित भएको बताए । श्रेष्ठले दुवैतर्फको समय हेरेर भ्रमण तय हुने पनि बताए । भेटमा नेपाल–इजरायल सम्बन्ध, इजरायलमा नेपालीलाई दिइने रोजगारीलगायत विषयमा समेत छलफल भएको थियो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget